

सुनसरी । भारतीय सीमावर्ती बजार र वेलाहाबाट भन्सार गेट हुँदै नेपालतर्फ आइरहेका दुई युवालाई सशस्त्र प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट (बीओपी) लौकहीबाट खटिएको गस्ती टोलीले चैत २५ गते दिउँसो १:३० बजे कोशी गाउँपालिका–१ स्थित वेला बजारको सीमा क्षेत्रमा शंका लागि चेकजाँच गर्दा उनीहरूलाई पक्राउ गरिएको हो।
सशस्त्र प्रहरी सहायक निरीक्षक सुजन राउतको कमाण्डमा खटिएको मोटरसाइकल गस्ती टोलीले मकवानपुर, हेटौंडा उपमहानगरपालिका–११ का ३२ वर्षीय राजेश लामा र इलामका २१ वर्षीय समिर क्षेत्रीलाई चेकजाँच गर्दा राजेश लामाको साथबाट खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने पदार्थ बरामद गरेको हो।सशस्त्र प्रहरीका अनुसार लामाले लगाएको हातको घडीभित्र लुकाइएको अवस्थामा प्लास्टिकमा पोको पारिएको १.७८ ग्राम (एक ग्राम सात सय असी मिलिग्राम) खैरो पदार्थ फेला परेको छ।
उनको साथबाट प्रयोगमा रहेको आईफोन ए+ मोडलको एक थान मोबाइल एक थान हातको घडी, साथै समिर क्षेत्रीको साथबाट Redmi मोबाइल फोन बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय लौकहीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।