विराटनगर। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा FAN (Fight Against Narcotic) Campaign समिक्षा कार्यक्रम सम्पन्न भएको छ । पुस २१ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत लागुऔषध दुर्व्यसन बिरुद्धको सचेतनामुलक अभियानलाई बिभिन्न कार्यक्रमहरूका साथ प्रभावकारी बनाउन सुनसरी जिल्लाका FAN कार्य सम्पादन समितिका सदस्यहरुसंग समिक्षा तथा आवश्यक छलफल गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि अधिकारीले स्वस्थ्य, सभ्य, सदाचारी र अपराध मुक्त समाज निर्माणको लागि व्यक्ति, समाज र समुदाय एक जुट भई प्राथमिकताका साथ यस्ता कार्यक्रमहरु प्रभावकारीरुपमा संचालन गरेमा लागुऔषधको प्रयोग तथा ओसार पसार निश्चय नै नियन्त्रण हुने विश्वास व्यक्त गर्नु भयो । साथै वहाँले यस कार्यका लागि कोशी प्रदेश प्रहरीको सदैव साथ र सहयोग रहने प्रतिबद्दता जनाउनु भयो ।
समिक्षा कार्यक्रममा FAN जिल्ला कार्य सम्पादन समिति सुनसरीका संरक्षक एवं जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, संयोजक प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिना, समितिका सदस्य रुमा रिजाल, चन्द्र बरालले FAN ले संचालन गर्ने बिभिन्न सचेतनामुलक कार्यक्रम, गतिविधि तथा समसामयिक विषयमा आ-आफ्नो धारणा व्यक्त गर्नु भएको थियो । समिक्षा कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका सिनियर प्रहरी अधिकृतहरु समेतको उपस्थिति रहेको थियो ।